रामदेवले १० अर्ब लगानीमा उद्योग, १० वर्षमा २० हजारलाई रोजगारी, नाफा भारत नलैजाने

4:35 AM





पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । ‘लगानी विस्तार गर्दै एक खर्ब रुपैयाँ पुर्‍याउने योजना छ,’ उनले भने । पतञ्जलीले गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोसँगको साझेदारीमा वीरगन्जको पर्सौनीमा पतञ्जली उद्योग स्थापना गरिसकेको छ ।नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार योगगुरु रामदेव र आचार्य बालकृष्णलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानी गर्ने बताएका हुन् । ‘हामी नेपाल स्वस्थ र समृद्ध भएको हेर्न चाहन्छौँ,’ उनले भने । कम्पनीले उक्त समयभित्र २० हजारलाई प्रत्यक्ष र एक लाखजनालाई अप्रत्यक्ष रोजगारी दिनेसमेत बताए ।
पतञ्जली र उद्योगी महतोको लगानीमा वीरगन्जको पर्सौनीमा स्थापना भएको उद्योगमा हालसम्म एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ । उद्योगले अहिले ६० प्रकारका वस्तु उत्पादन गरिरहेको महतोले जानकारी दिए । ‘पहिलो चरणमा खाद्यान्न, आयुर्वेद तथा कस्मेटिक वस्तु उत्पादन गर्न सुरु गरेका छौं’ उनले भने, ‘दोस्रो चरणमा औषधिलगायत अन्य सामग्री उत्पादन हुने छ ।’
नाफा फिर्ता नलाने
रामदेवले नेपालमा पतञ्जलीको उद्योग व्यवसायबाट हुने कुनै पनि नाफा भारत फिर्ता नलाने घोषणा गरेका छन् । उनले आफू नेपाललाई भारतजत्तिकै प्रेम गर्ने भन्दै यहाँ हुने नाफा फिर्ता नलैजाने घोषणा गरेका हुन् । ‘हामी अर्को वर्षबाट विकसित देशमा वार्षिक १० हजार करोड भारुबराबरको उत्पादन निर्यात गर्नेछौँ र ती मुलुकबाट भारतमा नाफा ल्याउनेछौँ,’ उनले भने, ‘तर, नेपालबाट नाफा भारत लैजाने छैनौँ ।’ उनले जुन मुलुकमा लगानी गरेको हो त्यही मुलुकको समेत भलाइ गर्नुपर्ने बताए ।
उत्पादनमा लगानी गर्न आग्रह
योगगुरु रामदेवले नेपाली निजी क्षेत्रलाई व्यापारमा भन्दा उत्पादनमूलक उद्योगमा लगानी गर्न आग्रह गरेका छन् । उनले व्यापारमा भन्दा उत्पादनमा बढी सम्मान मिल्ने भन्दै त्यसतर्फ लाग्न आग्रह गरेका हुन् । अर्काको ब्रान्ड बिक्री गर्दा तत्काल फाइदा भए पनि दीर्घकालीनका लागि आफ्नै ब्रान्ड स्थापित गर्नुपर्ने बताए । ‘हो उत्पादनका लागि चार–पाँचवटा चुनौती छन् र आफ्नै ब्रान्ड बनाउन १०–२० वर्ष लाग्छ,’ उनले भने, ‘मिहिनेत गर्न सके यो सबै सम्भव छ भन्ने कुरा पतञ्जलीले देखाएको छ ।’ पतञ्जलीले २० वर्ष लगाएर आफ्नो ब्रान्ड स्थापित गरेको र यसको वार्षिक कारोबार अहिले १० हजार करोड भारु नाघेको उनले बताए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images