"जंगबहादुरले लउरासँग एक रात बिताउन त्यति बेला नै ३ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए..."

7:13 AM

वैशाख ४, २०७३- 
धेरै वर्ष अगाडि, लन्डनको नेपाली दूतावासमा एक महिला बरोबर आउने गर्थिन् । उनको नाम थियो, मोइरा ब्राउन । सय वर्षभन्दा अगाडिको प्रसंग हो, यो । इतिहासकार सुबोध राणा लेख्छन्, ‘ती मोइरा आफू जंगबहादुरको सन्तान भएको दाबी गर्थिन् । दूतावासले बोलाउने रात्रिभोजमा ती महिला प्राय: नियमित पाहुना हुन्थिन् ।’ के उनी वास्तवमै जंगबहादुरकी सन्तान थिइन् त ? के उनलाई लउरा बेलसँग जोडेर हेर्न मिल्छ ? अनि यी लउरा बेल को हुन् त ? नेपाली इतिहासमा जंगबहादुरसँग जोडिएर आउने नाम हो यो । यिनीबारे कम लेखिएको छ । अथवा चर्चा भए पनि त्यो सुस्त मात्र गरिन्छ । सन् १८५० मा जंगबहादुर बेलायत गएका थिए । त्यसबेला उनको यात्रा बेलायतीहरूका लागि सनसनी सावित भएको थियो । उनी सबैका लागि आकर्षण र रहस्य सावित भएका थिए । त्यति बेलाका लगभग सबै मिडियाले जंगबहादुरलाई ठूलो महत्त्व दिएर समाचार छापेका थिए । उनीहरूका लागि यो ठूलै घटना थियो । त्यसलाई नै स्रोत बनाएर अहिलेसम्म पनि उत्तिकै लेख रचना आइरहेका छन् । जंगबहादुरको यात्रालाई लिएर लेख्ने बेलायती विद्वानमा पर्छन्, जोन ह्वेल्पटन । ‘जंगबहादुर इन युरोप’ उनको चर्चित पुस्तक हो । यसको अहिले नयाँ संस्करण आउदैछ । यसैका लागि पछिल्लो सातातिर ह्वेल्पटन काठमाडौंमा थिए । उनले यलमाया केन्द्रमा एक कार्यक्रम पनि राखेका थिए । त्यस कार्यक्रममा उनले आफ्नो पुस्तकबारे केही बोलिसकेपछि श्रोताका केही प्रश्न पनि सुन्न चाहे । त्यति बेला धेरैको प्रश्न तिनै लउरा बेलबारे थियो । के जंगबहादुर वास्तवमै लउरा बेलको प्रेममा फँसेका थिए त ? के यो घटना वास्तवमै साँचो पनि हो त ? अनि जंगबहादुरले उनलाई दिएको महँगा उपहारको चर्चा पनि उत्तिकै साँचो हो त ? यी सबै प्रश्न सायद ह्वेल्पटनले अपेक्षा गरेका थिए, त्यसैले उत्तर दिँदा मुस्कुराउन बिर्सेनन् । उनले भनेका थिए, ‘जंगबहादुरको लउरा प्रेम साँचो हो । हामीले जंगबहादुरको महिलाप्रतिको आकर्षणलाई लिएर नेपालमै धेरै सुनेका छौं । त्यसैले लउरा बेलसँगको उनको सम्बन्ध पनि यो साँचो हुने आधार धेरै छन् । तर काठमाडौं र विदेशमै पनि जति त्यसबारे चर्चा गरिन्छ, त्यो सबै सत्य नहुन सक्छ ।’ इतिहासमा सामान्य रूचि हुनेले पनि के सुनेका छन् भने जंगबहादुरले लउरा बेलसँग एक रात बिताउन त्यति बेला नै ३ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए । त्यो वास्तवमै ठूलो रकम थियो । अहिले त्यति रकमको हिसाब गर्दा पनि हाम्रो अरबौं पर्न आउँछ । कोही महिलाका लागि एक रातका लागि खर्चेको त्यो नै अहिलेसम्मकै सबैभन्दा बढी रकम हो भनेर पनि लेखिएको धेरै पाइन्छ । त्यसबारे ह्वेल्पटनको भनाइ थियो, ‘सायद जंगबहादुरले एकैपल्ट त्यति धेरै रकम लउरा बेलका लागि खर्चेका थिएनन् । लामो समयमा उनले एकपछि अर्को महँगो उपहारमा त्यो रकम खर्च गरेको हुनुपर्छ ।’ ‘यो वास्तवमै ठूलो रकम हो र अहिले त्यसबारे चर्चा गर्दा अहिले विश्वास पनि हुन्न,’ उनी मान्छन् । ह्वेल्पटनले लउरा बेलबारे बोलेका थिए । उनका अनुसार आम चर्चामा आएजस्तै सायद लउरा बेल माथिल्लो वर्गकी नगरबधु थिइनन् । उनी त्यति बेलाको लन्डनको उच्च धनाढ्य वर्गको वरिपरि देखिने आइरिस मूलकी महिला थिइन् । जंगबहादुरले लउरा बेललाई भेट्दा उनी किशोर उमेरमै थिइन् । सबैले मानेको एउटा तथ्य के हो भने उनी असाध्यै सुन्दर थिइन्, यसमा कुनै शंका छैन । बेलायत पुगेका पहिलो नेपाली मानिएका मोतीलाल सिंहले पनि लउरा बेलबारे लामै चर्चा गरेका छन् । यसले पनि जंगबहादुर र लउरा बेलबीचको सम्बन्धबारे निश्चित हुन सकिन्छ । पछिल्लो समय मोतीलाल सिंहको प्रसंगबारे पनि चर्चा चलिरहेका हुँदा लउर बेलबारे पनि धेरेको कौतुहलता बढेको हो । मोतीलालले सन् १८५० मै जंगबहादुरको बेलायत यात्राबारे लन्डनबाट छापिने ‘न्यु मन्थली म्यागाजिन’ मा एउटा आलेख लेखेका थिए र त्यसको शीर्षक थियो, ‘लन्डनमा नेपालीहरूको केही विवरण’ । मोतीलाल सेन्ट पउल चर्चको बाटो सफा गर्ने कुचीकार थिए । बेलायत भ्रमणका क्रममा जंगबहादुर र उनको टोली लन्डनमा एउटा ठूलो र भब्य रात्रिभोजमा सामेल भएका थिए । त्यस रात्रिभोजलाई सम्झेर मोतीलालले लेखेका छन्, ‘जंगबहादुर र उनका भाइहरू फूलजस्ता गाला भएका महिला नजिकै आएर घेरिँदा आनन्द मान्छन् । ती महिलामध्ये एउटा महिला कामदेवकी छोरीजस्तै थिइन् र सबैको आकर्षण थिइन् । हामीहरूले दोभासेलाई उनी को होलिन् भनेर सोध्यौं । आफू भर्खर मात्र बेलायतबाट फर्केको हुनाले दोभासेले तिनलाई चिन्न सकेनन् । त्यसैले म सोधपुछका लागि गएँ । मैले उनको नाम लउरा बेल भएको पत्ता लगाएँ । यसबारे जंगबहादुरलाई बताएपछि उनले हँसिलो अनुहार बनाए र भने, ती महिलाको नाम टाढाको मन्दिरमा बज्ने सुनौलो घन्टीको आवाज जस्तो मधुर र कर्णप्रिय हुनुपर्छ । त्यसपछि जंगबहादुरले खुसीपूर्वक उठ्दै आफ्नो हातमा भएको नीलो र सिन्दुरे किनारा भएको रुमाल त्यो गोरीतर्फ फर्काएर हल्लाए । ती परीले पनि प्वाँख जडित पङ्खा हल्लाइन् । अनि प्रशन्नताको भाव र स्वीकृतिको अभिव्यक्ति स्वरूप आफ्नो टाउको पनि हल्लाइन् । यसलाई हामीले एउटा सुखद अनुभूति र महामहिमप्रतिको शुभ संकेतका रूपमा लिन्छौं । जंगबहादुरले दोभासेलाई आफू पनि निकै प्रफुल्ल भएको घोषणा गर्छन् । यो सुनेर दोभासे अंग्रेजी लवजमा हाँस्दै अब ठूलो थैली खोलेर उदार हातहरू धन छर्न मन बनाइराख्नु भने । हामी लउरा बेललाई पटक–पटक सलाम गरेर आफ्नो वासस्थानतर्फ जान्छौं ।’ यस्तै एउटा फरक प्रसंगमा पनि मोतीलाले लउरा बेलबारे चर्चा गरेका छन् । उनले लेखेका छन्, ‘दुई सेतो घोडाले तानेको एउटा होचो बग्गी हाम्रो अगाडिबाट ग्रुजिन्छ । कमलको फूलजस्ती महिलाले त्यो बग्गी चलाएकी छन् । उनी अगाडि बढ्दै जाँदा पर्दाको एउटा छेउ हावाले उडाएको थियो । यस्तोमा लउरा बेलको मायालु अनुहार हाम्रो आँखामा पर्छ । पहिलेभन्दा अझ बढी मीठो मुस्कानसहित उनी जंगबहादुरतिर हेर्छिन् ।’ जंगबहादुरले तीन महिना जति बेलायतमा बिताए, त्यसमध्ये अधिकांश समय लन्डनमै रहे । त्यसबीच जंगबहादुरको लउरा बेलप्रतिको माया अझ बढ्दै गयो । लेखक सुबोध राणाले थपेका छन्, ‘जंगबहादुर लन्डनमै अझ बढी समय बिताउन चाहन्थे । तर यता नेपालमा उनका लागि स्थिति त्यसरी बस्नु अनुकूल थिएन । जंगबहादुरलाई नेपाल फर्कन उनका भाइहरूले मनाउनुपरेको थियो ।’ यसरी एउटा प्रेमकथाको अन्त्य भयो । तर अन्त्य भएका छैनन् यसलाई लिएर गरिने प्रश्नहरू ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images