धादिङ दुर्घटनामा मर्नेको संख्या १९ पुग्यो, १३ जनाको सनाखत
11:50 AM११ असोज, धादिङ । धादिङ सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको दार्खा तर्फ जांदै गरेको बस दुर्घटना हुंदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ५ लपाङखोला जिरोकिलो नजिकै मंगलबार विहान ना ४ ख ३३१८ नम्वरको बस दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो ।
घटनास्थलमा ४ महिला र १४ पुरुषको मृत्यु भएको हो भने १ महिलाकोे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनालाई डाईनेष्टि एयर र नेपाली सेनाको हेलिकप्टरको सहायताले उद्दार गरी उपचारको लागि काठमाण्डौ ल्याइएको थियो । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपचार भइरहेको छ ।
मृतक मध्ये १३ जनाको सनाखत भएको छ । जसमा सत्यदेवी गाउँ विकास समिति वडा नं २ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ बर्षिय छोरा(नाम नखुलेको) रहेका छन् ।
त्यसैगरी सत्यदेवी–३ का तिल बहादुर तामाङ, री गाउँ विकास समिति ८ का चन्द्रमान तामाङ, वडा नं ८ कै मन तामाङ, री २ का कासा लामा तामाङ, दार्खा ९ का रामचन्द्र सापकोटा, मार्पाक ५ की दिल कुमारी पौडेल र उनकी छोरी कमला पौडेल रहेका छन् । त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको छ ।
दुर्घटनामा पर्नेहरु अधिकाँश भुकम्प पीडितहरु हुन् । उनिहरु नेपाल सरकारले घर बनाउन दिएको अनुदानको पहिलो किस्ता बापतको ५० हजार रुपैया लिएर फर्किएका हुन् । धादिङवेसीको टिकट काउन्टरबाट ३१ जनाको चलानी लिएर दार्खा गाविसको किन्ताङफेदी गएको बसमा वीच बाटोबाट पनि यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भने अझै सम्म खुल्न सकेको छैन ।
दुर्घटनास्थलमा पहिरो गएकाले सडक अवरुद्ध भएपछि स्थानीयवासीले पहिरो पन्छाएर बस अघि लैजान खोज्दा हिलोमा वस अनियन्त्रित भई पल्टिएर ३ सय मिटर तल खसेको स्थानीयले वताए ।
0 comments