पूर्वगृहमन्त्री घिमिरेको अवस्था अझै अज्ञात, खोजीकार्य जारी
8:03 PM१० असोज, चितवन । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य जारी राखिएको छ ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
जीप पूर्ण रुपमा नदीमा डुबेको कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । आइतबार राति १ बजेसम्म दुर्घटना भएको स्थलमा गाडीको खोजी गरिएको थियो ।
म्याग्नेटको समेत प्रयोग गरी जीप खोजीएको भएपनि फेला नपरेको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताए ।
प्रहरीले २ टोली बनाएर मुग्लिन तर्फबाट खोज्न थालेको छ । नदीमा पानीको बहाव उच्च भएका कारण दुर्घटना स्थलभन्दा तलबाट खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।
0 comments