पूर्वमन्त्री घिमिरेको झोला मात्र भेटियो, त्रिशुलीमा खोजी चल्दै (तस्बिरसहित)
9:49 PMचितवन (मुग्लिन), असोज १० – त्रिशुली नदीमा जीप पल्टिँदा आइतबारदेखि हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि खोजीको काम भइरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, प्रहरी प्रमुख एसपी वसन्त कुँवर आइतबारदेखि नै घटनास्थलमा हुनुहुन्छ । सेना, प्रहरी र सशस्त्र प्रहरीले डुंगामार्फत खोजी गरिरहेका छन् । खोजीको क्रममा घिमिरेको झोला भेटिएको छ । दुर्घटनास्थल निकै साँघुरो, अप्ठेरो र खोंच भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । मुग्लिन र कुरिनटारबीचको यो ठाउँमा केही दिनअघि एउटा ट्रक पनि खसेको थियो । आइतबार नदीमा जीप खस्दा पूर्व गृहमन्त्री घिमिरे सहित उहाँका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता हुनु भएको छ । दुर्घटनामा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको ज्यान गएको छ । गम्भीर घाइते चालक विष्णु राईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारको बिचमा आइतबार दुर्घटना भएको हो । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी माधव घिमिरे आफैले हाक्नु भएको थियो । २०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे खिलराज रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी सरकारमा गृहमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।
0 comments